गएरातिदेखिको लगातार वर्षाका कारण दोलखाको लामाबगरस्थित रोल्वालिङ खोलामा आएको बाढीले लामाबगरको दोङ्गाङमा तीन घर बगाएको छ। च्छोरोल्पा हिमताल प्रवेश गर्ने मार्गको दोङ्गाङ बस्तीका तीन घर बगाउनुका साथै एक महिला बेपत्ता भएकी छिन्।
बाढीमा परी गौरीशंकर गाउँपालिका–९ दोङ्गाङमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी ६० वर्षीया जाङमु शेर्पा बेपत्ता भएकी दोलखा प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीमा बेपत्ता भएकी महिलाको खोजीमा स्थानीय जुटेका छन् भने घटनास्थलमा गोँगरबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिए।
प्रहरीका अनुसार बाढीले ३ घरसहित होटल पनि बगाएको छ। रोल्वालिङ खोलामा आएको बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छोरोल्पा पदमार्गस्थित गौरीशंकर गाउँपालिका–९ दोङ्गाङमा घर र होटल बगाएको हो।
यता तामाकोशी नदीमा आएको बाढीले पनि नदी किनार क्षेत्रमा क्षति गरेको छ।