सोमबारसम्म वर्षा नरोकिने, उच्च सतर्कता अपनाउन मौसमविद्कोआग्रह , चार प्रदेशमा २४ घण्टाभित्रै अति भारी वर्षा सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार शुरू भएको मौसम बदली आउँदो सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ ।विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत् रहने सम्भावना रहेको जनाएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा सम्भावना छ ।
भोलि असार २३ गते आइतबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाले अनुमान गरेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
पर्सी असार २४ गते सोमबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिकदेखि साधारणतयाः बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
अति भारी वर्षाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
-एनपी