अविरल वर्षा: पर्वतमा पहिरोले ६ घर पुरिए, पन्ध्र परिवार विस्थापित

 

पर्वत । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पुर्ण रुपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधवार दिउँसोदेखि नै पहिरो झर्न थालेका कारण स्थानीय बस्ती छाडेर अन्यत्र बस्न थालेकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक बरामका अनुसार नबराज विक, इन्द्र विक, सिता परियार, सुमिज विक, जमुना परियार, शान्ता विक, शोविता विक र पार्वती विकको घर पहिरोले पुरिएको हो । केही परिवारले पहिलेनै घरका सामाग्री अन्य सारेका कारण क्षति कम भएपनि अधिकांश परिवारका सामान तथा खाद्यान्न पुरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एक घर पुरिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका– १ नयाँपुल र सहस्रधारामा भीरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो । सहस्रधारामा दुई ठाउँमा खसेको पहिरो तत्काल पन्छाउन सक्ने अवस्था नरहेको प्रहरी निरिक्षक बरामले बताउनुभयो । पहिरोले राजमार्गको तल्लो भागमा सञ्चालित कालीगण्डकी विच रेष्टुरेण्ट समेत पुरिएको छ । रेष्टुरेण्ट पुरिँदा लाखौको नोक्सानी भएको सञ्चालक होम पुनले बताउनुभयो ।