काठमाडौँ – पहिरो जाँदा कास्कीमा नौ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । कास्कीको पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका सात जना एकै परिवारका हुन् ।
पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
परिवार नै घरमा बसिरहेको समयमा बिहीबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।