अधिकांश स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

 

काठमाडौं । अहिले देशभर मनुसुनी प्रणाली सक्रिय छ । जसका कारण देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनीका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो क्रम आगामी शनिबारसम्म रहने विभागको भनाइ छ । बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

शहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १३ दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा १७९ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।