काठमाडौँ- युरोकप- २०२४ को फाइनल भिडन्त आज राति १२:४५ बजे स्पेन र इंङ्ल्याण्डबीच हुँदैछ। फाइनल खेल जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ। चिरप्रतिद्वन्द्वी यी दुई टोलीको फाइनल खेलले संसारभरिका फुटबलप्रेमीको ध्यान तानेको छ।
फाइनलसम्मको यात्रा तय गर्दा यी दुवै टोलीले एउटा पनि खेल हारेका छैनन्। स्पेनले लिग चरणदेखिका ६ वटै खेल आफ्नो पक्षमा पारेको छ भने इङ्ल्याण्डले चार खेलमा जित र दुई खेलमा बराबरी खेल्दै फाइनलसम्म आइपुगेको छ।
तीन पटकको युरोकप विजेता स्पेन यो विश्वकपमा समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। इङ्ल्याण्ड भने समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा आइपुगेको थियो।
स्पेन चौथो पटक युरोकप च्याम्पियन बन्ने योजनामा छ भने इङल्याण्ड पहिलो पटक युरो कपको उपाधि हात पार्न संघर्षरत छ।
जारी युरो कपमा स्पेन उत्कृष्ट लयमा देखिएको छ। फिफा वरियतामा भने इङ्ल्यान्ड स्पेनभन्दा अगाडि छ। विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरियतामा इङ्ल्यान्ड पाँचौँ स्थानमा छ भने स्पेन आठौँ स्थानमा छ।
यी दुई टोलीबीच हालसम्म २७ खेल खेलिएका छन्। जसमध्ये इङ्ल्यान्डले १४ खेल जितेको छ भने १० खेलमा स्पेनले इङ्ल्यान्डलाई हराएको छ। तीन खेल भने बराबरीमा सकिएको छ।
यी दुवै टोलीले एक/एक पटक विश्वकप फुटबलको उपाधि समेत जितेका छन्। स्पेनले सन् २०१० मा विश्वकप उचालेको थियो भने इङ्ल्याण्डले सन् १९६६ विश्वकप जितेको थियो।
स्पेनिस टोलीमा अल्भारो मोराटा (कप्तान), नाचो र डानी कार्भाहाल, डेभिड राया (गोलरक्षक), फेरन टोरेस, पेड्री, फर्मिन लोपेज, लामिन यामल लगायतका खेलाडी छन्। १६ वर्षे यामलले फ्रान्स विरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई फाइनलको यात्रा तय गराएका थिए।
इङ्ल्यान्डको टोलीमा ह्यारी केन (कप्तान), जोर्डन पिकफोर्ड (गोलरक्षक), कायल वाकर, जोन स्टोन्स, फिल फोडेन, लुक स, बुकायो साका, ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, जुड बेलिङ्घम जस्ता खेलाडीले सुसज्जित छ।
जारी युरो कपमा इङ्ल्याण्डका कप्ता ह्यारी केनले ३ गोल गरिसकेका छन् भने बेलिङ्घम सर्वाधिक चर्चामा रहेका खेलाडी हुन्।
-एनपी