आज साउने सङ्क्रान्ति (कर्कट सङ्क्रान्ति)पर्व : देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै

 

काठमाडौँ- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

luto-saune-sankranti – Daunne News

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्को धारणा छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ-आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेका छन् ।