काठमाडौं । चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको दुई वटा शव नेपाल ल्याइएको जनाइएको छ ।
शवको सनाखत भने हुन सकेको छैन । सशस्त्र प्रहरीका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा २ वटा शव फेला परेको थियो । उक्त शव आज नेपाल ल्याइएको हो ।
योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । गत २८ असार बिहान चितवनको सिमलतालमा लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको दुईवटा बसलाई त्रिशूलीमा खसालेको थियो ।
दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । अहिलेसम्म २३ जनाको शव भेटिँदा १५ जनाको मात्र सनाखत भएको छ । आठ पुरुष र एक महिलासहित नौ शवको सनाखत हुनसकेको छैन ।