भैरहवा– गत शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै घटनास्थलमा आइपुगेको छ । ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो ।
गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा आएको उक्त टोली राति सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरको स्वागतमा भैरहवामा बसेको थियो । उनीहरु बिहान त्यहाँबाट चितवन आएका हुन् ।
खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले उक्त टोलीले आजैबाट खोजीकार्य सुरु गर्ने जानकारी दिए ।
टोलीले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने सन्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको छ ।
सिमलताल दुर्घटनाको आज आठौँ दिन हो । अहिलेसम्म विभिन्न ठाउँबाट २३ वटा शव भेटिएका छन् । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात रहेको छ ।
-एनपी ।