कांग्रेस–एमालेबीचको सहमति प्रधानमन्त्रीले भोलि संसदमा पढेर सुनाउनु पर्छ : गगन थापा

 

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र  कांग्रेसबीचको सात बुँदे सहमति सार्वजनिक गरिनु पर्ने बताएका छन् । ४२ औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले सहमति पढेरै पार्टीबाट निर्णय गरेको बताउँदै भोलि प्रधानमन्त्री ओलीले पनि सदनमा पढेर सुनाउनु पर्ने बताएका हुन् ।

उनले भ्रष्टाचारको मुद्दामा पनि कांग्रेस र एमाले भएको भन्दैमा छुट दिन नहुने बताए । संविधान संशोधनको विषयलाई लिएर गलत भाष्य चित्रण गर्न खोजिएको उनले बताएका छन् । उनले अहिलको क्याबिनेट समावेशी नभएको भन्दै सदनमा महिला ३३ प्रतिशत भनेर तोके जसरी तोक्नुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभा २७५ सांसद नचाहिँने भन्दै प्रदेशमा ५ जना मन्त्री राखे प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीमा जानुपर्ने बताए । अहिले सरकारले सुशासन स्थापना गरेर जनताको आक्रोशलाई कम भएपछि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग संवाद गर्नुपर्ने उनको भनाइ छ ।

‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ । ७ बुँदामा सहमति भयो भनेको छ । ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनु पर्छ भन्ने म ठान्दछु । किनभने हामीले त पढ्यौं त्यसलाई । पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं । पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तिमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं ।’

प्रधानमन्त्रीले त्यसो गर्नेमा आफूलाई विश्वास रहेको समेत थापाले बताए । ‘त्यसको स्वयं एउटा हस्ताक्षरकर्ता आफैं प्रधानमन्त्री भएकाले गर्दा उहाँको त्यो जिम्मेवारी पनि हो । एउटा अवसर पनि हो । मलाई विश्वास पनि छ,’ उनले भने । गत असार १७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन दुई दलले सहमति गरेका थिए । उक्त सहमति अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक भएको छैन । नयाँ सहमति अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् ।

-एनपी ।