लुम्बिनीका प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए पद तथा गोपनियताको सपथ 

 

बुटवल- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।

पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।

कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।

आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री  नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट  निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए । -एनपी

 

 

अन्य समाचारहरु