-गोपाल प्रसाद भट्टराई
साउन–१०,अर्घाखाँची- त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको उपाध्यक्ष यमकला बन्जाडे मधुको निधन भएको छ । अर्घाखाँचीको भूमिकास्थान–४, धारापानी स्थायी घर भई हाल सन्धिखर्क बस्दै सहकारी अभियानमा सक्रिय भूमिका खेल्नुभएकी त्रिवेणी उपाध्यक्ष यमकलाको मंगलबार हृदयघात भई दुःखद निधन भएको हो ।
विद्यार्थि जिवन देखि नै सामाजिक काम र सेवामा सक्रिय रहँदै आउनुभएकी यमकलालाई ४९ बर्षको उमेरमा साउन ८ गते मंगलबार साँझ अकस्मात हृदयघात भई
उपचारको लागि अस्पताल पुर्याउँदा बित्तिकै डाक्टरहरुले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको स्थापनादेखि नै विभिन्न पद र जिम्मेवारिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आउनुभएकी यमकला बन्जाडे जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीको कोषाध्यक्ष समेत हुनुहुन्थ्यो ।
उहाँ सहकारी अभियानको काम मात्र नभई अन्य सामाजिक सेवा र काममा समेत सक्रिय हुनुहुन्थ्यो । त्रिवेणी बचत तथा ऋण सहकारीको उपाध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघको कोषाध्यक्ष हुँदै महिला स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस जस्ता दर्जनौं संघ संस्थामा रहेर सामाजिक सेवा गर्दै आउनुभएकी यमकला बन्जाडेको अल्प आयुमै अकल्पनिय निधन भएपछि सिंगो जिल्ला नै अहिले शोकमा परेको छ ।
स्वर्गीय बन्जाडेको निधन पश्चात त्रिवेणीले शोक वक्तव्य मार्फत उहाँलाई श्रदान्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । यस्तै उपाध्यक्ष यमकलाको सम्झना र सम्मानमा त्रिवेणीले बुधबार एक दिन कार्यालय बन्द गर्यो भने बिहिबारदेखि १३ औं दिनको पूण्य तिथि सम्म कार्यालयमा उहाँको श्रदान्जली फोटो र शोक पुस्तिका राखेर श्रदान्जली दिने व्यवस्था मिलाइएको व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।
एक अनुशासित र प्रतिवद्ध सहकारी महिला नेतृलाई गुमाउनुपर्दा आफुहरुले अपुरणिय क्षति बेहोर्नु परेको संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभएको छ । उहाँको अन्तिम श्रदान्जली पश्चात बुधबार गच्छेघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँलाई अन्तिम श्रदान्जली दिन त्रिवेणीका अध्यक्ष कमल प्रसाद घिमिरे सहित पदाधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष दोर्ण प्रसाद भुसाल, त्रिवेणीका व्यवस्थापक खनाल सहित कर्मचारी, सहकारीकर्मी, अभियान्ता, आफन्तजन, शुभचिन्तकको ठुलो घुइचो नै लागेको थियो।