अनवरत खोजी प्रयास जारी राख्दा पनि बस र यात्रु नभेटिएपछि त्रिशूली नदीमा खटिएको भारतीय उद्दार टोली फर्किने भएको छ ।
९ दिनदेखि सिमताल पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोजी रहेको भारतीय उद्धार टोली आज फर्किने भएको हो ।
एक साताका लागि नेपाल आएको भारतीय टोलीले सक्दो प्रयास गरेपनि उपलब्धी नभएपछि फर्किने भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले धन्यवादसहित १२ जनाको उद्धार टोलीलाई विदाइ गर्ने कार्यक्रम बनाएको छ । यसैबीच नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा देखिएको रातो वस्तु हराइरहेको बस नभएको पुष्टि भएको छ ।
शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो ।
गत असार २८ गते दुई वटा बस त्रिशूलीमा बगेका थिए ।
दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।
बेपत्तामध्ये १९ जनाको शव भने भेटिएको छ । अन्य यात्रु अझै भेटिएका छैनन् ।