काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख तीन दलहरूबीच सहमति जुटेको छ । बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा विधेयकमा विवादित भएका चार बुँदामा सहमति भएको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए ।
‘कानुन निर्माण गर्ने कुरामा अन्तिम सहमति हामीले गरेका छौँ । अब प्रक्रियामार्फत् अघि बढ्छ’ उनले भने ।आगामी सोमबारसम्म कार्यदलले प्रतिवेदन शीर्ष नेताहरूलाई दिने शर्माले जानकारी दिए । कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा सहमति भएको बताए ।
‘सजाय मागदाबीको अन्योल थियो । २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने । पीडितलाई केन्द्रमा राखेर गर्ने गरी अघि बढेका छौं । संक्रमणकालीन न्यायसँग जोडिएको विषय भएकाले पृथक र विशेष प्रकारको न्याय प्रणाली भएकाले सहमतिको विन्दुमा पुगेका छौं ।’ उनले भने । उनले अब नेपालको शान्ति प्रक्रिया ठीक ढंगबाट २/३ वर्षभित्र टुंगोमा पुर्याउन सकिने बताए ।
-एनपी