गुल्मी — गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ।
त्यस्तै पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनको श्रीमती २३ वर्षकी मुना विक घाइते भएको प्रहरीले बताएको छ।
लगातारको वर्षापछि घरमाथीबाट लेदो सहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरेको थियो । घटनापछि प्रहरीले २ जनालाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ ।