गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलाई दक्षिण कोरियामा भव्य स्वागत गरिएको छ । दक्षिण कोरियाका स्थानिय सरकारसंग भगीनी सम्बन्ध स्थापना गरि विकासमा सांझेदारी गर्ने लक्ष्य बोकेर दक्षिण कोरिया पुग्नु भएका पाणिनीका अध्यक्ष न्यौपानेलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो ।
उहाँसंगै चौबिसे गाउँपालिका धनकुटाका अध्यक्ष राजकुमार लिम्बुलाई पनि स्वागत गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलले जानकारी दिनुभएको छ । स्वागत पछि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालमा विद्यमान व्यवसायिक सम्भावना र चुनौतीका विषयमा छलफल समेत चलाइएको थियो ।
छलफलमा त्यहाँ रहेका नेपालीहरुले आफ्ना अनुभव र समस्याहरुको बारेमा धारणा समेत राखेको अध्यक्ष पौडेलको भनाई छ । कार्यक्रममा बोल्दै पाणीनी अध्यक्ष न्यौपानेले दक्षिण कोरियाका पालिकासंग समन्वय गरि कृषिमा मौसमी कामदार लैजाने, व्यवसायिक कृषि र आर्थिक समृद्धिको निम्ती हातेमालो गर्ने र कोरियाबाट फर्किएका कामदारलाई व्यवसायिक योजनामा सहजीकरण गर्ने पालिकाको योजना सुनाउनुभएको छ ।
यस्तै कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष मनोज पौडेल, सचिव सि.एन.भण्डारी लगायतले स्थानिय सरकारको प्रगति र गतिविधिका बारेमा जिज्ञासा राख्नुभएको थियो भने दुवै पालिकाका अध्यक्षहरुले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा लुम्बीनी प्रदेश सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष हिमाल खनाल, र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पनि सम्बोधन गर्नुभएको थियो । उहाँहरुले कृषि र पर्यटनलाई व्यवसायिकीकरण गरि आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रम अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाबुराम पोख्रेलको स्वागत मन्तव्य र महासचिव आविश्कार घिमिरेको संचालनमा सम्पन्न भएको हो ।