काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबारसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकासहित देशभर जम्मा २ सय ३ जना घाइते भएका छन् । घटनामा १ सय १२ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी ४८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएका छन् ।