गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उनलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर डाक्टरले मृत घोषणा गरे ।
तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने र तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।
सुनसरी स्थायी घर भएका तिमिल्सिना गायन प्रतियोगिता नेपाली तारा मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । उनका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देउ, तिम्रो हातको सिन्दूर, नमान लाज यसरी, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म, नआए नि हुन्थ्यो लगायतका गीत छन् । उनले बाल्यकालमै आँखाको ज्योति गुमाएका थिए ।