प्रमुख चाड गौरा नजिएसँगै पर्व मनाउन घर फर्किंदै परदेशी

 

दार्चुला । सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।

आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको संख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलङ्गा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपस्चिममा  गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ ।  यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् ।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर) मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किन गरेका हुन् ।

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ विछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताए । उनका अनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन रहेको छ । रासस