-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
भाद्र-१२,अर्घाखाँची – संघिय सांसद बिजुला रायमाझीले नेपाली समाजलाई महिलाहरुको नेतृत्व स्विकार गर्न अझैपनि धौ भइरहेको बताउनुभएको छ ।
समय र व्यवस्था परिवर्तन भएपनि समाजको चिन्तन र व्यबहारमा परिवर्तन आउन नसकेका कारण महिलाहरुको नेतृत्व स्विकार्न धौ भएको उहाँको तर्क छ ।
नेकपा एमाले निकट अनेमसंघ सन्धिखर्क नगर कमिटीले बुधबार सन्धिखर्कमा आयोजना गरेको तिज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अनेम संघ स्थायी कमिटी सदस्य समेत रहनुभएकी सांसद रायमाझीले यस्तो बताउनुभएको हो ।
संविधानमा उल्लेख भएका महिला अधिकारका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन र मुलुकको समृद्धिमा हातेमालो गर्न महिलाहरुको संगठन बलियो हुनुपर्नेमा उहाँको जोड छ । चार्डपर्वहरुमा आएको विकृतिलाई रोक्न कला, संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरण गर्न नेतृ रायमाझीको सुझाव छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य बोम बहादुर वि.क.ले देशमा प्राप्त उपलब्धि स्थापनार्थ महिलाहरुले ठूलो संघर्ष गरेको स्मरण गर्दै परिवर्तनवादीहरू एक जुट भएर समृद्धिको यात्रामा लाग्नुपर्ने बताउनुभएको छ ।
एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज समेत रहनुभएका नेता वि.क.ले तिज पर्वलाई महिला अधिकार र समानताको पर्वको रुपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।
तिजले नेपाली महिलाको अधिकार प्राप्तीमा थप टेवा पुग्नेमा उहाँको विस्वाँस छ । यस्तै एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्वर भुसालले अनेमसंघ राजनीति क्षेत्रमा मात्र नभइ कला संस्कृतिको संरक्षणमा पनि जुटेको भन्दै धन्यावाद दिनुभयो ।
अनेम संघ सन्धिखर्क अध्यक्ष पार्वता भुसालको अध्यक्षता, उपाध्यक्ष शुसिला भुसालको स्वागत मन्तव्य र सचिव आशा परियारको संचालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता र महिला कार्यकताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
थप तस्बिर: