नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

 

काठमाडौं । नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो ।

डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी बर्माको आज बिहान साढे १० बजे हत्या भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी धनुषाको धनुषाधाम नगरपालिका–४ का ३५ वर्षीय प्रकाश यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाले राकेशको टाउकोमा प्रहार गर्दा राकेशको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।