काठमाडौं । गएरातिदेखि सुरु भएको भदौरे झरी अझै केही दिन जारी रहने भएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले देशैभर झरी परिरहेको र यो क्रम राति र भोलि पनि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभर मध्यम तथा सामान्य वर्षाको संभावना रहे पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको मौसमबिद सरोज पुडासैनीले बताउनुभयो ।
आज राति देशभर आंशिक बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । भोलिदेखि पुर्वी नेपालमा वर्षा कम हुने र पश्चिमी क्षेत्रमा केही बढी वर्षा हुने मौसमबिद पुडासैनिको भनाइ छ ।
आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।