मुलुककै ठूलो अस्पताल बन्दै लुम्बिनी प्रादेशिक अस्पताल, १२ सय बेडको १२ तले आधुनिक भवनको शिलान्यास

 

बुटवल- बुटवलमा एक सय १५ वर्षअघि निर्माण भएको लुम्बिनी प्रादेशिक अस्पतालका पहिलेका पुराना सबै संरचना हटाएर मुलुककै ठूलो अस्पताल भवन बनाउन लागिएको छ । १२ सय बेडको १२ तले आधुनिक भवनको शनिबार एक समारोहबीच शिलान्यास भएको छ ।

लुम्बिनी प्रदेशको पहिलो सरकारले प्रदेश गौरवका रुपमा अगाडि बढाएको आयोजना लामो समयपछि अहिले आएर शिलान्यास चरणमा पुगेको हो । सुरुमा ठेक्का प्रक्रियामा विवाद भएपछि आयोजना प्रभावित भएको थियो । गत पुस २६ गते सबै विवाद निरुपण भएसँगै नयाँ टेण्डर आह्वान भई ठेक्का सम्झौता भएको हो । ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको अस्पताल भवनको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

अस्पताल परिसरमा प्रदेश सरकारका मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले अस्पताल भवन बन्ने परिसरमा शनिबार बिहान शुभसाइत मिलाएर कार्यक्रमको आयोजना गरेको थियो । शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकास निर्माणका काममा नागरिक स्तरबाट निगरानी र चासो राख्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकाससंगै विशेषज्ञ र आधुनिक उपकरणहरुको पनि उत्तिकै खाँचो रहेको भन्दै त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । निर्माण कार्यमा कुनै व्यवधान नगर्न र निर्माणकार्यमा सघाउन मन्त्री पौडेलले सरोकारवालाहरुलाई आग्रह गरे ।

प्राधिकरणले तयार गरेको गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ भने दुई तलामा पार्किङ हुनेछ । पाँच तलाको क्यान्सर उपचारको ‘अनकलोजी डिपार्ट’ छुट्टै भवन हुनेछ ।

नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपत्कालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् । अहिले रहेको सुविधामा थप सुविधा सहितको सेवा प्रवाह हुने दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको शिलान्यास सामारोहमा लुम्बिनी प्रदेशका सभामुख तुलारामा घर्ती, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, पूर्वस्वास्थ्यमन्त्री तथा एमाले नेता भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले सम्बोधन गर्दै निर्माणकार्यमा आफूहरुका तर्फबाट पूर्ण सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले लामो समय प्रभावित भएको प्रदेशको गौरवको आयोजना शिलान्यास गराउन पाउँदा खुशी लागेको बताए । शिलान्यास समारोहको सञ्चालन प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले गरेका थिए ।