-गोपाल प्रसाद भट्टराई
भाद्र–१९, अर्घाखाँची
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आइतबार राजधानी सिओलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कर्म बिशेषले जन्मभूमि र देश छाड्न परेपनि अर्घाखाँची सहित नेपालका विभिन्न क्षेत्रबाट त्यहाँ पुगेका नेपाली मनहरुको आत्मियता बढाउन यो कार्यक्रमको आयोजना गरिएको हो ।
माइतीमा चेलीहरुको जमघट भई दुःख र सुख बाँड्ने पर्व तीजको अवसरमा अर्घाखाँची सहित नेपालका विभिन्न क्षेत्रबाट कोरियालाई कर्मथलो बनाउने चेलीहरुलाई दर खुवाउने र आपसि एकता गराउने उद्देश्यले तीज मिलन कार्यक्रमको आयोजना गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेलले बताउनुभएको छ ।
चाडपर्वमा घरमा आउन नपाएका नेपाली महिलाहरुलाई तीजको झल्को मेटाउने गरि यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक मनोज पौडेलको भनाई छ । करिब ९० जना नेपाली चेलीहरुको सहभागीता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष बुद्धि गुरुङ, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी खनाल लगायतको आतिथ्यता रहेको थियो ।
मञ्चले कोरियामा कार्यरत नेपालीका समस्या समाधान गर्न सम्बन्धित निकायसँगको समन्वयमा स्थापनाकाल देखिनै काम गर्दै आएको र अहिले आपसी सद्भाव बढाउन तीज बिशेष कार्यक्रम समेत गरिएको लुम्बिनी प्रदेश सम्पर्क समिति कोरियाका अध्यक्ष हिमाल खनालले बताउनुभएको छ ।