रास्वपाको चेतावनीः उपसभामुख रानालाई पदबाट हटाए सरकारलाई टिक्न दिँदैनौँ

 

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका हुन्।


उनले भने, ‘स्मरण रहोस्-तपाईहरुले आफैँले खनेको खाल्डोमा आफैँ पर्नु हुनेछ। यो पनि लेखेर राख्नुस्। म यो सम्मानित सदनमा असाध्यै राम्रो भाषा बोल्नुपर्छ भन्ने मान्छे। लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ। तर यसरी राजनीतिक पार्टीहरू नै लोकतन्त्रमाथि आक्रमण गर्न लाग्छन्। त्यसपछाडि जनताको लागि एउटै ठाउँ हुन्छ-जनताको साथ र सडक।’

उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए।

प्रमुख सचेतक परियारले सत्तारुढ दलहरुले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरूले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताए। उनल भने, ‘संख्यामा मात्रै, शक्तिको आडमा मात्रै यो राज्य चल्छ। र यो राज्यमा जे पनि गर्न सकिन्छ भन्ने तपाईहरुको बुझाई हो भने म एकचोटी विनम्रताका साथ अनुरोध गर्न चाहन्छु–जनताको सार्वभौमसत्ताको अगाडि कुनैपनि सत्ता टिकेको छैन, टिक्ने छैन भन्न चाहन्छु।’

प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद आम जनता सडकमा ओर्लने दाबी समेत गरे। उनले अगाडि भने,’  म विनम्रताका साथ मेरा आदरणीय राजनीतिक पार्टीका अग्रज नेताहरुलाई निवेदन गर्न चाहन्छु। लोकतन्त्रमाथि धाँवा नबोल्नुस। लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने हामीलाई विश्वास छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास छ–तमाम नेपाली जनताहरु लोकतन्त्रको लागि सडकमा ओर्लने छन्।’

-एनपी