आफ्ना कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखविरुद्ध महाअभियोग लगाउँदैछन् : अध्यक्ष लिङ्देन

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्मा सहज बहुमत पु¥याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध जनाउनुभएको छ ।

मंगलबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताउनु भयो । उहाँले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खाऔँ भन्ने बाटोमा गइरहेको आरोप लगाउनुभयो । उहाँले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउनुभयो । यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो । देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताउनुभयो । उहाँले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताउनुभयो ।