देशैभरि रोकिएको जग्गा कित्ताकाट खुल्याे

जग्गा किन्ने सोचमा हुनुहुन्छ धैर्य गर्नुहोस् अब चलन चल्नीको भाउमा किन्नु नपर्ने - Aamsanchar

 

काठमाण्डाै – सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

जग्गा किन्ने सोचमा हुनुहुन्छ धैर्य गर्नुहोस् अब चलन चल्नीको भाउमा किन्नु नपर्ने - Aamsanchar

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गर्नुभएको छ । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभएको हो ।

भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो  । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । सरकारको यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो । पालिकाले कृषि र गैरकृषि छुट्याउन ढिलाइ गरेपछि २०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो ।

कित्ताकाट नै ठप्प भएपछि नियमावली संशोधन गर्दै २०८० साउन ३० को मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गर्‍यो । संशोधित नियमावलीले पालिकालाई जग्गाको वर्गीकरण गर्न एक वर्ष समयसँगै कित्ताकाट गर्न लचिलो नीति पनि बनाएको थियो । तर उक्त समयावधिभित्र पनि पालिकाहरूले वर्गीकरण नगर्दा फेरि कित्ताकाट रोकिएको थियो ।