रास्वपाको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा: राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताउनुभयो । भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने बताउनुभयो । उहाँले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताउनुभयो ।

महामन्त्री बुर्लाकोटीले केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताउनुभयो । करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको दाबी गर्नुभयो । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिनुभयो ।

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ । राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रिय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाइ काम गरिएको बताउनुभयो ।