दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

 

काठमाडौं । भारतको  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । आम आदमी पार्टीका मुखिया केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने घोषणा गरेका हुन् ।

केजरीवालले जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने समेत बताएका छन् । उनले भने, ‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिन गइरहेको छु । तबसम्म यो कुर्सीमा फर्कने छैन जबसम्म जनताले फैसला सुनाउने छैनन् ।’

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ - Sajha Post - साझा पोष्ट

उनले थपे, ‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । म अब अग्निपरीक्षा दिन चाहन्छु ।’ मदिरा नीति प्रकरणमा जेलमा रहेका केजरीवाल अदालतको आदेशमा शुक्रबार जमानतमा रिहा भएका थिए ।

कथित मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवाललाई भारतको केन्द्रीय जाँच ब्युरो सीबीआइले पक्राउ गरेको थियो । तर, उनले यसविरुद्ध न्यायालय गुहारेका थिए ।

सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले ‘व्यक्तिगत स्वतन्त्रता’ लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्लीको विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

आम आदमी पार्टीको विधानसभा बैठकले आगामी मुख्यमन्त्री चयन गर्ने समेत केजरीवालले बताएका छन् । यस्तै उपमुख्यमन्त्री मनिष सिसोदिया पनि अब जनताले नयाँ फैसला सुनाएपछि मात्रै कुर्सीमा फर्कने केजरीवालले बताए । आम आदमी पार्टीका वरिष्ठ नेता सिसोदिया पनि मदिरा नीति बनाउँदा घोटाला गरेको आरोपमा लामो समयदेखि हिरासतमा छन् ।

-agency