सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

 

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ सकरदिनयीबाट पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदी पारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याएकाे छ ।

नारायणी नदीमा निर्माण भएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याएकाे प्राधिकरणले जनाएको छ । अब तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ ।

यसअघि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्तामा विद्युत् आपूर्ति हुँदै आएको थियो । तर सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।

अहिले सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि एक सय केभिए क्षमताका दुईवटा वितरण ट्रान्सफर्मर राखेर विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न भएको छ । अब उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन शुरु गर्ने प्राधिकरणले जनाएको छ । सुस्ताबस्तीमा तीन सय ५० वटा घरधुरी छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याएकाे बताउनुभयो । भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्वपूर्ण भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण हुने घिसिङको भनाइ छ । एक करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/०८०मा शुरु गरिएको थियो ।

चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । अहिले विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ ।

-एनपी /उज्यालो