भ्रष्टाचारी जोगाउन काँग्रेस र एमाले मिलेर रातारात सरकार ढाले : प्रचण्ड

 

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमाले मिलेर रातारात षड्यन्त्रमूलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन्

आइतवार झापामा आयोजित कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात आफ्नो सरकार हटाएको बताएका हुन्।

उनले संसारमा कतै पनि संसद्का दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाए। उनले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालतको फैसलाका आधारमा अघि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताए।

भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि रातारात सरकार ढाले : प्रचण्ड

प्रचण्डले भने, ‘नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालतको फैसलाका आधारमा अघि बढ्ने जमर्को गर्दागर्दै खतराको सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो। दुईजनालाई गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार बालकोट र बूढानीलकण्ठतिर जोडियो। र रातारात षड्यन्त्रमूलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो।’

अध्यक्ष दाहालले गिरिबन्धु टी स्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताए। उनले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाए।