प्रतिपक्षको अवरोध जारी रहँदा संसद अधिवेशन अन्त्य : दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

 

काठमाडौँ – सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्ने गरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । त्यस्तै बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्रीसंग भेट गर्दै आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।