राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै

 

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्।

राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नुहुने छ। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ।

आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ। भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ।

भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।

-एनपी