काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भु–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज राती कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।