सार्वजनिक ऋण २ महिनामा १ खर्ब थपिएर २५ खर्ब २८ अर्ब पुग्यो , प्रतिव्यक्ति ऋण ८६ हजार ७ सय

 

काठमाडौंः  देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ । चालु आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो महिना २ महिना अर्थात साउन र भदौमा गरेर १ खर्ब ४ अर्ब सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको हो । २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको सार्वजनिक ऋणको दायित्व भदौ मसान्तसम्म आइपुग्दा २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ९४ अर्ब ५२ करोड थप भएको छ ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५० अर्ब ४३ करोड थियो ।
कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.३२ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६६ तथा बाह्य ऋण २२.६६ प्रतिशत कायम भएको छ । अहिले नेपालको जीडीपी ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर छ ।
सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड ऋण प्राप्ति भएको छ ।
भदौसम्मा ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण प्राप्ति भएको हो । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति १९.०२ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति २७.२७ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ६.४८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८१-८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ११.८४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पुँजी गत खर्चभन्दा धेरै हो ।
यसै अवधिमा सरकारले ४२ अर्ब २ करोड आन्तरिक ऋणको भुक्तानी गरेको छ । जसमा ३५ अर्ब साँवा तथा ७ अर्ब २ करोड ब्याज भुक्तानी गरेको हो । त्यस्तै यसअवधिमा ५ अर्ब ६८ करोड बाह्य ऋण भुक्तानी गरेको छ । जसमा साँवा ४ अर्ब ६७ करोड तथा ब्याज १ अर्ब १ करोड रहेको छ ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ।
प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
सार्वजनिक ऋणको आकारलाई सजिलोसँग बुझाउन देशको जनसंख्यासँग तुलना गर्ने चलन छ । तथ्यांक अनुसार चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल २५ खर्ब २८ अर्ब ६२ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ ।
पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएको छ । जसका कारण सरकारले पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा धेरै बजेट विनियोजन गर्नुपरेको जानकारहरू बताउँछन् ।
सरकारले चालु बजेटमा पनि पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा झण्डै १५ अर्ब धेरै बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
हरेक वर्ष बजेटको आकार बढ्दै गएकाले सार्वजनिक ऋणको आकारसमेत बढ्दै गएको छ । यसो हुँदा सार्वजनिक ऋणको साँवा भुक्तानी वार्षिक वृद्धिदर बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

-एनपी