नेपाली नर्स ममता बेपत्ता मुद्दा:  शव लुकाएको अभियोगमा पक्राउ नरेश भट्टराईलाई धरौटीमा रिहा गर्न अदालतले गर्‍यो अस्वीकार

फाइल तस्बिर:

 

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका नरेश भट्टराई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । नरेश ममताका श्रीमान हुन् । नरेशलाई धरौटीमा रिहा गर्ने कि नगर्ने भन्नेबारे शुक्रबार सुनुवाई भएको थियो ।

ममता काफ्ले | Nepal's first 24-hour updated news portal - Ratopati

लामो सुनुवाइमा भट्टलाई धरौटीमा रिहा गर्न नहुने तर्क गर्दै अभियोजकहरूले विभिन्न प्रमाणहरू पेश गरेका थिए । नरेश भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोला डिस्पोज गरेको भिडियो रहेको अभियोजकहरुको दाबी छ । आफ्नी छोरीलाई अपार्टमेन्ट कम्प्लेक्समा बेबीसिटरकोमा लैजाने क्रममा र फल्स चर्चमा रहेको फोहोर फ्याक्ने ठाउँमा फोहोरका झोलाहरू डिस्पोज गरेको देखिएको अभियोजकको भनाई छ ।

अभियोजनकर्ताहरुले भट्लाई धरौटीमा रिहा गर्न नहुने बताएका थिए । श्रीमती बेपत्ता भएपछि भट्टले रबराइज्ड पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाईका सामानहरू किनेको भिडियो पनि आफूहरुसँग सुरक्षित रहेको दाबी अभियोजकहरुको छ ।

भट्टको मास्टर बेडरूम र मास्टर बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका छन् । उनले मस्तिष्कको रेखाचित्र र नजिकैको कुखुरा फार्मका लागि इन्टरनेटमा सर्च गरेको पत्ता लागेको छ ।

ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले खोजी कार्य र अनुसन्धान जारी राखेको छ । प्रहरीले संघीय पार्टनरहरु एफबीआई र सेक्रेट सर्भिसका साथमा लाउडन काउन्टी र फेयरफ्याक्स काउन्टी प्रहरीसँग पनि सहकार्य गरिरहेको बताएका छन् ।

काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत अभियोजकको भनाई छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले यस अगाडि बताएका थिए ।

नरेशले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

-एनपी