कपिलवस्तुमा हतियारसहित दुई भारतीय पक्राउ

 

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ गणेशपुरबाट हतियारसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायव निरिक्षक धन बहादुर थापाको कमाण्डमा खटिएको टोलीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गर्दा दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट रिभल्भर नाल एक थान र एक थान गोलीको खोका फेला परेको थापाले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपराका ३५ वर्षीय प्रितम कुमार र देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदी रहेको प्रहरी नायब निरिक्षक थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट तीन थान मोबाइल, फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज २ थान, एम्पुलेक्सको पत्ता १ थान, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।

दुवै जना लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा पक्राउ परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।