भ्रष्टाचार मुद्दा लागेका टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को कीर्ते मुद्दा

 

काठमाठौं । भ्रष्टाचार मुद्दामा कारागारमा रहेका  नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध प्रहरीले कीर्ते मुद्दा दायर गरेको छ । कर कार्यालयको कर चुक्तासम्बन्धी नक्कली कागजपत्र बनाएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा शुक्रबार लिखत कीर्ते मुद्दा दायर गरेको हो । यसअघि नै पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कारागारमा छन् ।

भ्रष्टाचार मुद्दाकै अनुसन्धानको क्रममा उनको घरबाट नक्कली कागजपत्र भेटिएपछि त्यससम्बन्धि अनुसन्धान गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो । जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा अभियोग दायर गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

पौडेलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको मागदावीसहित मुद्दा दायर भएको छ ।  सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भष्टाचार मुद्दामा  उनलाई नौ वर्ष कैद र  २३ करोड २७ लाख ५८ हजार सात रुपैयाँ जरिवानाको फैसला भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ४४ बमोजिम पछिल्लो पटक गरेको कसुरमा हुने सजायको दोब्बर सजाय मागदावी गर्दै मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

– एनपी