-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची ।
असौज–१५,अर्घाखाँची- अर्घाखाँचीको ग्रामीण भेगमा उपभोग्य बस्तुको लेभल हेर्ने बानीको विकास नभएको पाइएको छ ।
भुमिकास्थान नगरपालिकाको सहकारी तथा उद्योग शाखाको आयोजनामा जिल्लाको भुमिकास्थान–३ र ४, धारापानीमा गरिएको बजार अनुगमनको क्रममा यस्तो पाइएको हो ।
विभिन्न निकायबाट अनुगमन, सूचना सम्प्रेषण सचेतनामुलक अभियान संचालन गरेपनि उपभोक्ताले मात्रै नभएर व्यबसायिले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने उत्पादन मिति, एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि नगरेको पाइएको अनुगमन टोलिका संयोजक तथा भुमिकास्थानका सहकारी एवं उद्योग शाखा प्रमुख शंकर अधिकारीले बताउनु भएको छ ।
अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा रोजगार शाखा प्रमुख पुश्कर मिश्र, धारापानी स्वास्थ्यचौकी इन्चार्ज राम बहादुर केसी., कृषि प्राविधिक सहायक युवराज
आचार्य, पत्रकार गोपाल प्रसाद भट्टराई, धारापानी प्रहरी चौकीका हवल्दार जगत पून, प्रहरी सहायक हवल्दार दिपक विष्ट सहित खटिएको टोलीले धारापानीको ठुलाखर्क, उपल्लापोखरा, रातामाटा र धारापानी बजारमा रहेका सबैखाले पसलको अनुगमन गरेको छ ।
अनुगमन गर्दा अधिकांश पसलहरुमा मुल्यसुची नभएको, केही पसलमा मसलाजन्य, पेयपदार्थ,सुर्तिजन्य, मिठाइ र जंकफुड जस्ता म्याद गुज्रिएका सामान र
इजाजत नलिइ बेच्न राखेका सामानहरु जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।
यस्तै ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसुची नराखेको पाइएको टोली संयोजक अधिकारीको भनाइ छ ।
उहाँका अनुसार टोलीले म्याद गुज्रिएका ५ हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाई ३५ दिन भित्रमा नगरपालिकामा
गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।