-गोपाल प्रसाद भट्टराई अर्घाखाँची ।
असौज–२३,अर्घाखाँची – नेपालीहरुको महान चाड दशैंसँगै नजिकिँदैं गरेका चाडहरु तिहार, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरि सन्धिखर्क नगरपालिकाले मंगलबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उप–प्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल सहित जनप्रतिनिधि, कर्मचारी तथा पत्रकार समेतको बिशेष उपस्थितिमा कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले नेपाली संस्कृति र सामाजिक एकता सँग जोडिएका कारण चाडपर्वको महत्व जिवन्त रहिरहने बताउनुभएको छ ।
चाडपर्व हाम्रा सांस्कृतिक धरोहर भएको भन्दै नगरप्रमुख श्रेष्ठले चार्डपर्वलाई भड्किलो नभई सद्भावका साथ मनाउन अपिल गर्नुभएको छ । दशैंको मुखमा परेको अविरल वर्षाले देशमा ठुलो नोक्सानी पुर्याएको प्रति दुःख व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले दशैं सबैको घरमा आउनुपर्ने तर्क गर्नुभएको छ ।
समाजका कोहिपनि नागरिकले दशैं मनाउने जोहो गर्न नसके बिना कुनै हिचकिचावट नगरपालिकामा नाम टिपाउन उहाँले आग्रह गर्नुभएको छ ।
दशैं मनाउन आवश्यक सामान जोहो गर्न नसक्नेहरुको दशैं मनाउने व्यवस्था नगरपालिकाले गरिदिने भन्दै नगरप्रमुख श्रेष्ठले त्यस्ता नागरिक वा परिवारलाई आफुहरुले दशैं राहतको व्यवस्था गर्ने वचन दिनुभएको हो ।
नगरपालिकाको प्रशासकिय अधिकृत मन्जु खनालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति चाडपर्वको महत्त्वपुर्ण भूमिका हुने बताएका छन् । उनीहरुले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
नगर उपप्रमुख आचार्य, प्रमुख प्रशासकिय अधिकृत भुसाल, सन्धिखर्क नगरप्रवक्ता एवं सन्धिखर्क–२ का वडाध्यक्ष मोतिजंग रायमाझी, कार्यपालिका सदस्य लिला भुसाल र नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले मन्तव्य राख्दै चाडपर्वले शान्ति, विकास र समृद्धिको यात्रालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने बताउनुभएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णले बडा दसैँ दीपावली र छठ पर्वले सबैमा सुख शान्ति र समृद्धी प्राप्त होस् भन्ने कामना गरेका छन् ।