दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

Open photo

 

काठमाडौं । पूर्वपश्चिम राजमार्गको चितवन रत्ननगर नगरपालिका- ३ स्थित शान्तिचोकमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदैगरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर आइतबार साँझ एकआपसमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चितवन खैरहनी नगरपालिका- १ का दिपेश चौधरीको मृत्यु भएको छ । आफैले स्कुटर चलाएका चौधरीकोे भरतपुरस्थित मनकामना अस्पतालमा उपचार हुँदाहुदै गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

यस्तै घाइते हुनेमा मोटर साइकल चालक चितवन खैरहनी नगरपालिका- १ बस्ने २२ वर्षीय अनिस बस्नेत र मोटरसाइकल पछाडी बस्ने २२ वर्षीय सुजेक दराई रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

स्कुटरमा पछाडि बस्ने २४ वर्षीय अर्जुन चौधरीको नाक र मुखमा चोट लागेको छ । गम्भीर अवस्थामा रहेका उनको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।