जनकपुरमा कोजाग्रत पूर्णिमाको रौनक

 

काठमाडौं । मथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस पटक पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको थियो ।

महोत्तरीको रतौलीका स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखन, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपड़ा ल्याइएको छ ।

रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ४१ वर्षदेखि चल्दै आइरहेको छ । यो परम्परालाई टुट्न नदिने प्रतिवद्धता स्थानीय नविन ठाकुरले व्यक्त गर्नुभएको छ । कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना समेत गर्ने गरिन्छ ।

प्रत्येक वर्ष उत्सवको बेला हास्य परिहासको कार्यक्रम पनि आयोजना हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो । गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो ।

मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकै दिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व आज मनाइएको हो ।

– Image