बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

 

काठमाडौं । चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यी क्षेत्रमा जङ्गली हात्ती देखिएकाले राति एक्लै नहिँड्न स्थानीयलाई निकुञ्जले आग्रह गरेको हो ।

विगत एक सातादेखि यस क्षेत्रमा जङ्गली हात्ती समूहमा देखिन थालेको छ । त्यसैले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जले जनाएको छ ।

अहिले धान पाक्ने समय भएकाले धान खान हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् । राति हिँडडुल गर्दा हात्तीका कारण मानवीय क्षति हुनसक्ने भन्दै एक्लै नहिँड्न र हिँड्नै परे उज्यालो बनाएर, समूहमा हिँड्न आग्रह गरिएको हो ।

नेपालका साथै भारतबाट पनि बेलाबेलामा जङ्गली हात्ती आउनेजाने गर्ने गरेकाले पनि मानव बस्ती असुरक्षित बनेको बताइएको छ । जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ ।