रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान

 

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ ।

बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका क्रममा यो जिम्मेवारी सम्हाल्नेछन् । टी-२० विश्वकप २०२४ मा खराब प्रदर्शनपछि बाबर आजमले एकदिवसीय र टी-२० मा पाकिस्तानको कप्तानी छोडेका थिए । अब बोर्डले रिजवानलाई नयाँ जिम्मेवारी दिएको छ । उनी पहिलो पटक पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको कप्तान बनेका छन् ।

आइतबार, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई सेतो बल ढाँचाको नयाँ कप्तानको रूपमा नियुक्त गरेको घोषणा गरे । यस क्रममा उनले सलमान आगालाई रिजवानको उपकप्तान अर्थात टी–२० र एकदिवसीयमा उपकप्तान बनाएको बताएका छन् । छनोट समितिमा रहेका आकिब जावेद र अजहर अली लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए ।

पीसीबीले मोहम्मद रिजवानलाई सीमित फर्म्याटको कप्तान बनाएको छ । बोर्डको यो निर्णय अष्ट्रेलिया भ्रमण अघि नै लिइएको हो । आइतबार बोर्डले अस्ट्रेलिया र जिम्बाब्वे भ्रमणका लागि टोलीको घोषणा गरेको हो । अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय र टी–२० सिरिजका लागि छनोट गरिएको टोलीमा बाबर आजम, शाहिन अफ्रिदी र नसिम शाह पनि परेका छन् । तीनै जना हालै इंग्ल्याण्ड विरुद्धको तीन खेलको टेष्ट सिरिजको अन्तिम दुई खेलबाट बाहिरिएका थिए । रिजवान अस्ट्रेलियाविरुद्धको टी–२० र एकदिवसीय सिरिजमा देखिने बताइएको छ । यसबाहेक उनी जिम्बाब्वे भ्रमणमा हुने एकदिवसीय सिरिजमा मात्रै देखिनेछन्, उनलाई टी–२० सिरिजमा आराम दिइएको छ ।

पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमले अक्टोबर १ मा सेतो बल फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए । एक वर्षभित्र उनले कप्तानबाट राजीनामा दिने यो दोस्रो पटक हो । उनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न चाहेको बताएका थिए । गत वर्ष अक्टोबर–नोभेम्बरमा भारतले आयोजना गरेको एकदिवसीय विश्वकपमा पाकिस्तानको प्रदर्शन खासै रहेन । यसपछि बाबरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए । यसपछि टी–२० टोलीको कमाण्ड शाहिन अफ्रिदीलाई सुम्पिएको थियो तर एक सिरिज (पाकिस्तान विरुद्ध न्युजिल्याण्ड) पछि मात्रै पीसीबीले फेरि बाबरलाई जिम्मेवारी दिएको थियो ।

पाकिस्तानले नोभेम्बर २०२३ मा भएको एकदिवसीय विश्वकपबाट बाहिरिएपछि एकदिवसीय खेलेको छैन । अब टोली अर्को महिना अष्ट्रेलिया र जिम्बाब्वे भ्रमणमा जानेछ । यस अवधिमा तीन-तीन खेलको एकदिवसीय र टी–२० सिरिज खेल्ने छ ।

अष्ट्रेलिया भ्रमणका लागि पाकिस्तानी टोली

एकदिवसीय: आमिर जमाल, अब्दुल्ला शफिक, अराफात मिन्हास, बाबर आजम, फैसल अक्रम, हरिस रउफ, हसिबुल्लाह (विकेट), कामरान गुलाम, मोहम्मद हसनैन, मोहम्मद रिजवान (विकेट), मोहम्मद इरफान खान, नसीम शाह, सैम अयुब, सलमान अली आगा र शाहीन शाह अफ्रिदी ।

टी-२०: अराफात मिन्हास, बाबर आजम, हरिस रउफ, हसिबुल्लाह, जहानद खान, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद इरफान खान, नसीम शाह, ओमेर बिन युसुफ, साहिबजादा फरहान, सलमान अली आगा, शाहीन शाह अफ्रिदी, सुफियान मोकिम र उस्मान खान ।

जिम्बाब्वे भ्रमणका लागि पाकिस्तानी टोली

एकदिवसीय: आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, अहमद डेनियल, फैसल अकरम, हरिस रौफ, हसिबुल्लाह (विकेट), कामरान गुलाम, मोहम्मद हसनैन, मोहम्मद रिजवान (विकेट), मोहम्मद इरफान खान, सईम अयुब, सलमान अली आगा, शाहनवाज दहनी र तय्यब ताहिर ।

टी-२०: अहमद डेनियल, अराफात मिन्हास, हरिस रउफ, हसिबुल्लाह (विकेटकीपर), जहानद खान, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद हसनैन, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, कासिम अक्रम, साहिबजादा फरहान, सलमान अली आगा, सुफियान मोकीम, तय्यब ताहिर र उस्मान खान ।