भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार) बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ ।
अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरेको थियो ।
चालक दलका सात सदस्य रहेको विमान करिब ४० मिनेटपछि बैंकक गएको विमानस्थलले जनाएको छ । थाई एअर एशियाको केही दिनअघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । टिकट बिक्री लगायत बजार प्रवर्द्धनको कामको तयारी भइरहेको विमानस्थलले जनाएको छ । पर्यटन व्यवसायी सीपी श्रेष्ठले सरकार विगतमा जस्तै यात्रु अभावको कारण देखाउंदै विमान कम्पनीहरुले उडान नगर्ने जोखिम अझै रहेको बताउँछन् ।
विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए । अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विममानस्थल लक्षित गरी होटल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।