बाँके । बाँकेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–११ का सरदरलाइनका २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको छ । दुर्घटनामा नेपालगञ्ज—४ का १८ वर्षीय रोशन सेख गम्भीर घाइते छन् । सेखलाई नेपालगञ्जको उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नवीन चापार्गाइले बताए ।
नेपालगञ्ज- ४ बसपार्कबाट बाइपास रोड हुँदै गणेशपुरतर्फ जाँदै गरेको मृतक कसौधनले चलाएको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र घाइते सेखले चलाएको बिपरित दिसातर्फ आउँदै गरेको भे ३ प ७१७१ नम्बरको मोटरसाइकल आइतरबार बेलुकी ८ बजेतिर एक आपसमा ठोक्किएका थिए । घाइतेलाई नेपालगञ्ज नर्सिङहोम पुर्याइएको थियो । चिकित्सकले कसौधनलाई तत्कालै मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।