-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
कार्तिक–२४,अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारीको अध्यक्षमा कमल प्रसाद घिमिरे पुनः निर्बिरोध निर्वाचित हुनु भएको छ ।
सहकारी शनिबार सन्धिखर्कमा सम्पन्न १३ औं साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष घिमिरेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा टोपलाल खनाल, सचिवमा नारायण प्रसाद भुसाल र कोषाध्यक्षमा शिव वेल्वासेपनि निर्विरोध चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा माधवा भुसाल, राधा खत्री, डिलु रायमाझी , पवित्रा सापकोटा, चोपनारायण बन्जाडे, विशाल खनाल र गणेश पौडेल निर्वाचित हुनु भएको हो । यस्तै रामलाल भुसाल संयोजक रहेको ३ सदस्यिय लेखा समिति निर्माण गरिएको छ । जसको सदस्यमा सिता बन्जाडे र मित्रमणी मिश्र छनौंट हुनुभएको छ ।
अधिबेशन तथा साधारणसभाको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उदेश्य मिल्ने सहकारीहरु मर्जरमा जानुपर्ने सुझाव दिनुभएको छ ।
बचतकर्ताको लगानीको सुनिश्चितता र बढि नाफा दिनको लागि उदेश्य मिल्ने सहकारीहरु मर्जरमा जानु अहिलेको आवस्यकता भएको नगरप्रमुख श्रेष्ठको तर्क छ ।
सन्धिखर्क एरियामा विना दर्ता कुनैपनि वित्तिय संस्था संचालनमा भए तुरुन्तै प्रक्रियामा आउन उहाँको आव्हान छ । यदि अनुगमनको क्रममा दर्ता विना संचालनमा रहेको भेटिएमा कार्बाही सहित संस्था खारेज गरिदिने नगरप्रमुख श्रेष्ठले चेतावनी समेत दिनुभएको छ ।
आर्थिक समृद्धिको निम्ती भूमिका खेल्ने सहकारीको संस्थागत विकासमा सन्धिखर्क नगरपालिकाले बिशेष ध्यान दिएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी सघंका अध्यक्ष प्रकाश भुसाल, सन्धिखर्क नगरपालिकाको सहकारी शाखा प्रमुख मन्जु खनाल, जिल्ला बचत तथा रिण सहकारीका अध्यक्ष दोर्ण प्रसाद भुसाल र पत्रकार महासंघ जिल्ला कोषाध्यक्ष रुद्रमणी भुसालले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, कोषाध्यक्ष टोपलाल खनालको स्वागत मन्तव्य र सचिव नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले उत्पादनशिल क्षेत्रमा आर्थिक लगानी गर्न, नियमित बचत गर्न, सहकारी मर्जरको योजनामा जान, आर्थिक मितव्ययिता अपनाउन आम सहकारी संस्था र कर्मिहरुलाई सुझाव दिनुभएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले बार्षिक प्रगति प्रतिवेदन, कार्यालय प्रमुख तुल्सीराम खनालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण संयोजक चोपनारायण बन्जाडेले लेखापरिक्षण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले गत आर्थिक बर्ष गरेको शुद्ध नाफाबाट ८ दशमलव ९० प्रतिशत शेयर बोनस बितरण गर्ने निर्णय गरेको त्रिवेणीका कार्यालय प्रमुख तुल्सीराम खनालले जानकारी दिनुभएको छ । यस्तै त्रिवेणीका बचतकर्ताले बर्षभरि पाउने ब्याजको ८ दशमलव ४५ प्रतिशत र बर्षभरि कर्जा उपभोग गरि संस्थालाई तिरेको ब्याजको ७ दशमलव २० प्रतिशत लाभांश प्राप्त गर्नेपनि कार्यालय प्रमुख खनालको भनाई छ ।
कार्यक्रममा पत्रकार रुद्रमणी भुसाललाई त्रिवेणी पत्रकारीता सम्मान २०८१ प्रदान गरिएको छ । यस्तै त्रिवेणी जेष्ठ सदस्य सम्मान ६ जनालाई, त्रिवेणी पहिलो मालिक सम्मान १२ जनालाई, त्रिवेणी असल कारोबारी सम्मान ७ जनालाई र त्रिवेणी विद्यार्थि सम्मान ४ जनालाई प्रदान गरिएको अध्यक्ष कमल प्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
२०६८ मंसिर ५ गते २५ जना सदस्यबाट सुरुवात भएको त्रिवेणीमा अहिले १ हजार १ सय ८ जना शेयर सदस्य रहेका छन् । जसको १८ करोड बराबरको कुल पूंजी रहेको देखिन्छ ।
त्रिवेणीले अहिले बचत संकलन, सुलभ दरमा कर्जा प्रवाह, घातक रोगमा उपचार सहयोग, सुत्केरी सम्मान,बाल स्वास्थ्य शिविर, बिपद्मा हातेमालो, विभिन्न सामाजिक क्षेत्रमा लगानी तथा कामहरु गर्दै आइरहेको छ । जसको हाल २ सय ६० जना बाल सदस्य समेत रहेको बताइएको छ ।