गोपाल प्रसाद भट्टराई
कार्तिक–२५,अर्घाखाँची
अर्घाखाँची – मानव अधिकार तथा शान्ति समाजका केन्दिय सचिव सन्तोष अधिकारीले नेपालमा समयको भ्रष्टाचार रोक्न आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा अहिले समयको दुरुपयोग सबैभन्दा ठुलो चुनौंति बनेर आएकोले यसलाई तत्काल रोक्नुपर्ने उहाँको जिकिर छ ।
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको शनिबार सन्धिखर्कमा सम्पन्न १२ औं साधारणसभामा बोल्दै सचिव अधिकारीले यस्तो जिकिर गर्नुभएको हो ।
“समयको दुरुपयोग गर्ने बानी उच्च ओहोदाबाटै धेरै हुने गरेको छ ।”सचिव अधिकारीले भन्नुभयो,“ हामीले देख्दै र भोग्दै के छ भने हरेक दिन देशैभर हुने औपचारिक कार्यक्रमको प्रमुख अतिथि समयमै नआइदिंदा सयौं दर्शक र दर्जनौं अतिथिको समय खेर गइरहेको छ ।” उहाँले अगाडि थप्नुभयो,“यसको पूर्ति कसरी हुन्छ यसले व्यक्ति, समाज र दशकै विकासमा कति क्षति पुगेको छ हेक्का कसले राख्ने ?” विकासको आधारः अहरणिय अधिकार मुख्य नाराका साथ अहिले शान्ति समाजले समयको भ्रष्टाचार सहित समाजका सबै प्रकारका विकृति रोक्न अभियान चलाइरहेको सचिव अधिकारीको दाबी छ ।
साधारणसभाले सभापति मधु अधिकारीको नेतृत्वमा १५ सदस्यिय अर्घाखाँचीको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उप–सभापतिमा दिपक बेल्बासे, सचिवमा सागर महत, सह—सचिवमा टान बहादुर थापा र कोषाध्यक्षमा सावित्रा पौडेल छनौंट हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा नारायाण प्रसाद बेल्बासे, हिमलाल पौडेल, कृष्ण परियार, प्रकाश चुँदाली, सम्झना खनाल, रमेश मरासिनी र प्रदिप आचार्य चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका पुर्व नगरप्रमुख कमल प्रसाद भुसालले शान्ती समाजले समाजमा दबिएर रहेका आम नागरिकको मुद्वालाई बाहिर ल्याउनपर्ने खाँचो औल्याउनुभयो । कसैको दबाब र प्रभावमा नपरि समाज सुधारको अभियानलाई अगाडि बढाउन उहाँको आग्रह छ ।
कार्यक्रममा भूमि आयोग अर्घाखाँचीका पुर्व अध्यक्ष यादव प्रसाद घिमिरे, नेपाल शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष सारदा भट्टराई, शिक्षक महासंघ अर्घाखाँचीका अध्यक्ष नम बहादुर रानाभाट, कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेल, शान्ती समाज नवलपरासी शाखा सभापति शिव प्रसाद पौडेल र शान्ती समाज कपिलवस्तुका पूर्व सभापति माधव घिमिरेले पनि बोल्नुभएको थियो ।
कार्यक्रम शान्ती समाज अर्घाखाँचीका निर्वतमान सभापति निलकण्ठ भुसालको अध्यक्षता, पूर्व सभापति अशोक पौडेलको स्वागत मन्तव्य र सागर महतको संचालनमा सम्पन्न भएको हो ।