१५ दिनभित्र विद्युत् महसुल बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता

 

काठमाडौं । उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले भनेको छ ।

आज सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गतेभित्र बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले दिएको १५ दिने समयसीमा मंसिर १२ गते सकिँदैछ ।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको थियो ।

त्यसै अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।

मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अगाडी बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । तर कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको हो ।

यसपछि कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरको हो । अहिले प्राधिकरणले धेरैजसो उद्योगहरुमा लाइन जोडेको छ । – Image