काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन् । उपसभापति अर्यालले आज (मंगलबार) अपराह्न ५ः३० बजे केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय चस्मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान जारी छ । लामिछानेले पार्टीमा कार्यवाहक सभापति कसैलाई पनि तोकेका छैनन् ।
उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेका छन् । बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको भन्दै सडक आन्दोलन गरिरहेको छ ।